
तस्बिर स्रोत,CAN
कीर्तिपुर क्रिकेट मैदानमा टस हार्नुको पीडा प्रत्येक टोलीले बेहोरिरहेको छ।
आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत बुधवार नेपालले नामिबियासँग फेरि एकपटक पहिले टस र लगत्तै खेलमा पराजय बेहोर्यो।
नामिबियासँगको हारको प्रकृति पनि उस्तै थियो।
अघिल्लो हप्ता नेपालले पहिले ब्याटिङ गरेर १३२ रन बनाएको थियो भने बुधवार अलि बढी १६८ रन बनाउन सक्यो।
५० ओभरको खेलमा यति मध्यम स्कोर जोगाउन मुस्किल हुने गरेको पाइन्छ।
नेपाली बलरहरूले दोस्रो इनिङ्समा विपक्षीलाई रोक्न भरपुर प्रयास गरेका थिए।
तर सफल हुन सकेनन्।
१६८ रनमा समेटिएको नेपाल विरुद्ध नामिबियाले ४० ओभरमा लक्ष्य पूरा गर्दै २ विकेटको जित हात पार्यो।
यो नतीजासँगै नामिबियाले नेपाल विरुद्धको खेलबाट ४ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
नेपालले सुरुका दुई खेलाडीलाई फटाफट पवेलियनको बाटो देखाइदिएपछि आरम्भमा नेपालको पक्षमा केही आशा देखिएको थियो।
तर सामान्य लक्ष्यलाई पूरा गर्ने क्रममा नामिवियाका कप्तान जेरार्ड एरास्मुसले ५२ रनको महत्त्वपूर्ण रन तथा मिचेल भान लिङ्गेनले ३१ रन बनाएपछि नेपाल खेलमा फर्कन सकेन।
त्यस्तै जोनाथन स्मिथले केही समय धरमराएको नामिबियाको टोलीलाई थाम्दै खेललाई सहज जिततिर डोर्याउन सफल भए।
उनले अविजित ३४ रन बनाए।

















