इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा लिग चरणको खेल सकिएको छ । योसँगै प्रतियोगिताको प्ले–अफ चरणमा पुग्ने टोलीको पनि टुंगो लागिसकेको छ । कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद प्रतियोगिताको क्वालिफायर चरणमा प्रवेश गरेका छन् ।
राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैंगलुरुले भने ‘एलिमिनेटर’ खेल्नेछन् । साबिक विजेता चेन्नई सुपर किङ्स र उपविजेता गुजरात टाइटन्स भने लिग चरणबाटै बाहिरिएका छन् । खासगरी लिग चरणमा दुई
अनुमान गर्न कठिन राजस्थान र बैंगलुरुको प्रदर्शन
प्रतियोगितामा सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गरेको राजस्थान लिग चरणको उत्तरार्धतिर पुग्दा निरीह बन्न पुग्यो । सुरुमा राजस्थानको प्रदर्शन हेर्दा सिधै क्वालिफायर चरणमा पुग्ने अनुमान गरिएको थियो । तर, अप्रत्याशित रूपमा प्रदर्शन खस्किएपछि राजस्थान ‘एलिमिनेटर’ खेल्न बाध्य भयो ।
सुरुमा लगातार चार खेल जितेको राजस्थानले पाँचौँ खेलमा हार भोगेको थियो । त्यसपछि फेरि राजस्थान चार खेलमा विजयी भएको थियो । त्यसपछि भने राजस्थानले लगातार चार खेलमा पराजित हुन पुग्यो । राजस्थानको एक खेल भने अनिर्णित रूपमा सकिएको थियो ।
बैंगलुरुको प्रदर्शन भने राजस्थानको भन्दा ठिक विपरीत रह्यो । बैंगलुरुले हारबाट १७औँ संस्करणको सुरुआत गरेको थियो । पहिले खेलमै पराजित भएको बैंगलुरु दोस्रो खेलमा विजयी भएको थियो । त्यसपछि बैंगलुरुले लगातार ६ खेलमा हार भोगेको थियो ।
त्यसैले बैंगलुरुको प्ले–अफ चरण प्रवेश गर्ने सम्भावना निकै कम देखिएको थियो । बैंगलुरुलाई प्ले–अफ चरण प्रवेशका लागि आफ्नो खेलमात्र होइन, सानोतिनो चमत्कारकै आवश्यकता थियो । आखिर भयो पनि त्यस्तै ।
बैंगलुरुले आफ्नो पछिल्लो ६ वटै खेलमा जित हासिल गर्यो र अन्य टोलीको नतिजा पनि उसले चाहेजस्तै आयो । यसरी सम्पूर्ण संयोग जुरेपछि अन्ततः बैंगलुरु प्ले–अफ चरणमा पुग्न सफल भयो । तालिकामा चौथो भएको बैंगलुरुको अङ्क १४ थियो ।
बैंगलुरुसँगै चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्ट्सको पनि १४–१४ अङ्क रहेको थियो । तर, नेट रन रेटमा बैंगलुरुले आफ्ना तीन निकेट्तम प्रतिद्वन्द्वीलाई पछाडि पार्यो । कोलकाता २० अङ्कसहित पहिलो, सनराइजर्स हैदराबाद १७ अङ्कसहित दोस्रो र राजस्थान रोयल्स १७ अङ्कसहित तेस्रो हुँदै प्ले–अफ चरणमा पुगेका हुन् ।
निरीह देखियो पाँच पटकको च्याम्पियन मुम्बई
लिग चरणको समाप्तिपछि गुजरात टाइटन्स १२ अङ्कसहित आठौँ, १० अङ्कसहित पञ्जाब किङ्स नवौँ र आठ अङ्कसहित मुम्बई इन्डियन्स दशौँ स्थानमा रहे । चेन्नईसँगै मुम्बई पनि आईपीएलको इतिहासको सर्वाधिक सफल टोली हो । यी दुबैले हालसम्म पाँच–पाँचपटक उपाधि जितेका छन् ।
जारी सिजनको आईपीएलमा सबैभन्दा खराब सुरुआत नै मुम्बईले गरेको थियो । सुरुको तीनवटै खेलमा मुम्बई पराजित भएको थियो । मुम्बई इन्डियन्स पहिलो खेलमा गुजरातसँग ६ रनले, दोस्रो खेलमा सनराइजर्स हैदराबादसँग ३१ रनले र तेस्रो खेलमा राजस्थानसँग ६ विकेटले हारेको थियो ।
तथ्याङ्कमा आईपीएल
अन्य पक्षमा पनि यो सिजनको आईपीएल केही फरक देखिएको छ । लिग चरणमा ७० खेल सकिँदासम्म एक हजार दुई सयभन्दा बढी छक्का र दुई हजारभन्दा बढी चौका प्रहार भइसकेको छ । लिग चरणको खेल सकिँदासम्म १४ वटा शतक प्रहार भइसकेको छ । यो शतक सङ्ख्या १७ वर्षयताकै सर्वाधिक हो ।
यसैगरी विगतको तुलनामा ‘पावर प्ले’ मा बनेको रन पनि निकै बढी देखिएको छ । यसका अतिरिक्त जारी सिजनको आईपीएलमा औसत रन र विकेत पतनमा पनि केही फरकपन देखिएको छ । पहिलो पालीमा बनेको रन पनि औसतमा दुई सयको हाराहारीमा देखिएको छ ।
‘पावर प्ले’ मै बन्यो कीर्तिमान
आईपीएलको पहिलो संस्करण सन् २००८ मा सम्पन्न भएको थियो । त्यतिबेला प्रतियोगितामा कुल ५९ खेल खेलाइएको थियो । आईपीएलको पहिलो संस्करणमा ‘पावर प्ले’ मा औसतमा कुल ४६ रन बनेको थियो । सन् २०२३ मा सम्पन्न १६औँ संस्करणसम्म पनि ‘पावर प्ले’ मा ५० भन्दा बढीको औसतमा रन बन्न सकेको थिएन ।
तर, आईपीएलको जारी संस्करणमा ‘पावर प्ले’ मा ५५ को औसतले रन बनेको देखिन्छ । अर्थात्, यसपटक सुरुको ६ ओभरमै औसतमा ५५ रन बनेको छ । यसअघि सन् २०१७, सन् २०१८ र सन् २०२३ को संस्करणमा ‘पावर प्ले’ मा ५० को औसतमा रन बनेको थियो ।
यसैगरी जारी सिजनको आईपीएलमा ‘पावर प्ले’ मा टी–२० क्रिकेटको इतिहासकै सर्वाधिक रन पनि बनेको छ । खासगरी यो सिजन ‘पावर प्ले’ मा सनराइजर्स हैदराबादको ब्याटिङ सबैभन्दा आक्रामक देखिएको छ ।
हैदराबादले ‘पावर प्ले’ अर्थात्, सुरुको ६ ओभरमा दुई पटक एक सयभन्दा बढी रन बनाएको छ । यसअघि आईपीएलको इतिहासमा ‘पावर प्ले’ मा यसरी रन बनेको थिएन । हैदराबादले लखनउ र दिल्लीविरुद्ध ‘पावर प्ले’ मा एक सयभन्दा बढी रन बनाएको हो ।
हैदराबादले दिल्लीविरुद्धको खेलमा त ‘पावर प्ले’ मै एक सय २५रन बनाएको थियो । टी–२० क्रिकेटको इतिहासमै ‘पावर प्ले’ मा बनेको यो सर्वाधिक रन थियो । यसअघि सन् २०१४ को आईपीएलमा चेन्नईले र सन् २०१७ को आईपीएलमा कोलकाताले ‘पावर प्ले’ मा एक सय रन बनाएका थिए ।
पहिलो पालीको औसत स्कोर दुई सय रन
जारी सिजनको आईपीएलमा लिग चरणको खेल सकिँदासम्म पहिलो पालीको औसत स्कोर दुई रनको हाराहारीमा देखिएको छ । सन् २००८ मा आईपीएलको पहिलो संस्करण खेलिँदा पहिलो पालीको औसत स्कोर एक सय ६१ रन थियो ।
















