सल्यानमा बुधबार बिहान भएको बस दुर्घटनामा परी गम्भीर घाइते भएकामध्ये चार जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर पठाइएको छ ।
इलाका प्रहरी कार्यालय सल्यान, थारमारेका प्रहरी निरीक्षक नवीन थापा मगरले दिएको जानकारीअनुसार तुलसीपुर उपमहानगरपालिका–४ का ४६ वर्षीय विष्णु विक, रुकुम त्रिवेणी गाउँपालिका–२ का २२ वर्षीया चित्रा पुन, उनका ६ वर्षीय छोरा रमेश पुन र तुलसीपुर–१९ बिजौरीका २९ वर्षीय कृष्ण चौधरीलाई थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुर पठाइएको हो ।
चारै जनालाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि रेफर गरिएको प्रहरी निरीक्षक मगरले जानकारी दिए । उनका अनुसार अन्य १० जना घाइतेको थारमारे प्राथमिक स्वास्थ्य केन्द्र तथा स्थानीय पोलिक्लिनिकमा उपचार भइरहेको छ ।
















