धरानबाट भोजपुर घोरेटारतर्फ यात्रु लिएर आउँदै गरेको जीप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।
घटनास्थलमा नै सात जनाको मृत्यु भएको थियो भने थप एक जनाको धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदिपराज पाठकका अनुसार मृतक आठ जनाको सनाखत भएको छ ।
इलाका प्रहरी कार्यालय घोरेटारबाट सात जना र हसनपुरबाट पाँच जना गरी १२ जना प्रहरीको टोलीलाई तत्काल घटनास्थलमा पठाएर उद्धारको व्यवस्था मिलाइएको प्रहरी प्रमुख डिएसपी पाठकले जानकारी दिनुभयो ।
घाइतेहरूको पनि विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ । धरानबाट भोजपुरको दक्षिणतर्फ आउँदै गरेको को१ज २५९३ नम्बरको जीप आज बिहान साढे १० बज उदयपुरको बेलका नगरपालिका–७ मैनामैनीमा दुर्घटना भएको थियो ।
जीपमा क्षमताभन्दा बढी यात्रु सवार रहेको देखिएकाले दुर्घटना भएको देखिएको प्रहरीले अनुमान गरेको छ । जीपमा १७ जनाभन्दा यात्रु सवार रहेको बताइएको छ ।
















