नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ ।काठमाण्डौको भृकुटीमण्डमा हिजो बिहान ९ बजदेखि शुरू भएको मतदान आज बिहान पौने ७ बजे सकिएको हो । २ हजार २ सय ६३ प्रतिनिधिमध्ये २ हजार २ सय २७ मत मात्र खसेको निर्वाचन समितिले जनाएको छ । ३६ जना प्रतिनिधि अनुपस्थित भएका छन् ।
केन्द्रीय कमिटीका ३०१ पदका लागि ६०३ जनाले उम्मेदवारी दिएका छन् । एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानलसहित चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् ।
पदाधिकारीतर्फ एउटा अध्यक्ष पदमा २ जना, ५ वटा उपाध्यक्ष पदमा ११ जना, एउटा महासचिव पदमा २ जना, तीन वटा उपमहासचिव पदमा ७ र नौ वटा सचिव पदमा २० जनाले उम्मेदवारी दिएका छन् ।नतिजा आज बिहान अबेरसम्म सार्वजनिक गर्ने तयारी छ ।
















