नेकपा (माओवादी केन्द्र)ले पालिका उपचुनावको परिणाम उत्साहजनक भएको र यसले आउँदो चुनावमा एक्लै प्रतिष्पर्धा गर्ने आधार तयार गरेको निष्कर्ष निकालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निष्कर्ष निकालेको हो । जितेका सिट सङ्ख्या र लोकप्रिय जनमत दुवै हिसाबले प्राप्त परिणामलाई उत्साहजनक भएको निष्कर्ष निकालिएको बैठकपछि प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
यसले अब आउँदो चुनावमा आफ्नै एजेण्डा र पहिचानसहित एक्लै चुनावमा जाने आधार तयार गरेको छ भन्ने आजको कार्यालय बैठकको निष्कर्ष रहेको उहाँको भनाइ छ । यसअघि माओवादीले जितेका रुकुमपूर्वको पुथाउत्तरगङ्गा र हुम्लाको सर्केगाड गाउँपालिका जोगाएर बाँकी पालिका र वडामा थप गर्नुका साथै लोकप्रिय जनमतका हिसाबले दोस्रो हुनुलाई माओवादी केन्द्रले उपलब्धिको रूपमा लिएको छ ।
















