कांग्रेसका नेता शेखर कोइरालाले सरकारको स्थायित्व र आर्थिक विकासका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने बताएका छन्।
बिहीबार घोराहीमा दोस्रो जिल्ला सम्मेलनमा बोल्दै कोइरालाले उक्त कुरा बताएका हुन्। उनका अनुसार पटकपटक सरकार परिवर्तन हुँदा र त्यसको असर प्रत्यक्ष निर्वाचनमा देखिने भएकाले निर्वाचन प्रणालीका बारेमा पुनर्विविचार गर्नुपर्ने भएको हो। त्यसका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति हुनुपर्ने उनको भनाइ थियो। ‘संविधानसभाबाट निर्माण गरिएको संविधान उत्कृष्ट हुँदाहुँदै पनि केही कमजोरीहरू देखिए,’ उनले भने, ‘कमजोरीकै कारण संविधान निर्माणपछिका कुनै पनि दलको बहुमत ल्याउन नसक्दा स्थायी सरकार भएन। त्यसैले अब संविधानमा संशोधन गर्न आवश्यक छ।’
कोइरालाले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर समानुपातिक प्रतिनिधित्व कायम हुने गरी निर्वाचन प्रणालीका बारेमा ठोस कदम चाल्नुपर्ने बताए।
‘निर्वाचन प्रणाली परिवर्तन गर्न दुई ठूला पार्टी एकै ठाउँमा उभिनुपर्छ,’ उनले भने, ‘अस्थिरताका कारण देशमा आर्थिक मन्दीका कारण धेरै व्यवसायमा सटर डाउनको अवस्था सिर्जना भएको छ।’
















