अखण्डखबर डटकम
विश्वकै प्रसिद्ध व्याकरणका ज्ञाता महाश्री पाणिनीको सिद्धि प्राप्ति गरेको स्थान प्रदेश नम्बर ५ नेपालको अर्घाखाँची जिल्लाको पूर्वी भागमा पाल्पा जिल्लाको सिमावर्ती क्षेत्र समुद्र सतहबाट लगभग १८०० मिटर अर्थात् ५००० फिट उचाइमा रहेको समतल भूभाग स्थित स्थान पणेना र पोखराथोकको सिरानमा स्थित स्थान हो। यस पवित्र स्थानमा पुग्नका लागि प्रदेश नम्बर ५ अथवा पश्चिम नेपालको औद्योगिक सहर बुटवलबाट तीन प्रकारले पुग्न सकिन्छ। एक त बुटवलबाट पाल्पा जिल्लाको सदरमुकाम तानसेन सहरमा गई त्यहाँबाट अर्घाखाँची जाने बाटो श्रीनगर हार्थोक भैरव स्थान छहरा हुँदै पाल्पा अर्घाखाँचीको सीमास्थित तीनगीरेबाट उपल्लो बाटो करिब ३ किलोमिटरमा पाणिनी तपोभूमि स्थित छ। दोस्रो बाटो बुटवलबाट करिब २० किलोमिटर पश्चिम सिधै महेन्द्र राजमार्गतिर सालजण्डीबाट उत्तर दिशामा नवनिर्माण धोरपाटन मार्गद्वारा खुर्सानेबाट पूर्व दिशामा सत्यवती हुँदै तीनगरे आएर तपोभूमि पुग्न सकिन्छ। र तेस्रो बाटो बुटवलबाट पश्चिममा महेन्द्र राजमार्गद्वारा लगभग ४५ किलोमिटरमा गोरुसिङ्गे पर्दछ। त्यहाँबाट उत्तर दिशामा सन्धिखर्क मार्गमा ठाडा नरपानी हुँदै घुम्तीबाट पूर्वतर्फ अडगुरी बाँसका रुख हुँदै माथि तिनगिरे पुगेर माथिल्लो बाटो घुमी पाणिनी तपोभूमि पुग्न सकिन्छ।
















