रुपन्देही ३ को उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को सचिवालयमा सल्लाहकार रहेका तिलोत्तमाका सन्तोष गिरीले उम्मेदवारी दिने तयारी गरेका छन् । ३३ वर्षीय गिरी तिलोत्तमा नगरपालिका ६ पश्चिम पहुनीका बासिन्दा हुन् । गिरीको जन्मस्थान रुपन्देही क्षेत्र नं. ३ मै पर्छ । गिरीले संक्षिप्त कुरा गर्दै धेरैतिरबाट आग्रह भएकाले उम्मेदवार बन्ने सोचका साथ तयारीमा रहेको खुलाए । ‘उम्मेदवार बन्न रुपन्देहीका शुभेच्छुकहरूले आग्रह गरेकाले बन्नुपर्छ भन्ने सोच भयो, बन्ने सम्भावना पनि छ,’ गिरीले भने, ‘तर हतार गरेर तयारी नै गरेको छैन, साउनमा थाहा हुन्छ । ’स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेका गिरीले योग्य युवा उम्मेदवार आए आफूले उसैलाई सहयोग गर्ने पनि बताए । बालेनका खाद्य सल्लाहकार गिरी अर्थशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक हुन् । उनी नेपाल स्वीस चेम्बर अफ कमर्शको प्रमुख कार्यकारी अधिकृतका रूपमा पनि काम गरिरहेका छन् । एमालेनिकट अनेरास्ववियु रुपन्देहीको सहसचिव रहिसकेका गिरीले प्रखर वक्ताको पहिचान पनि बनाएका छन् । गिरी निकट स्रोतका अनुसार बालेनलाई महानगरमा एक्लै पारेपछि संसदमा उनको पक्षमा आवाज उठाइदिने कोही नभएकाले बालेन समर्थकको टिमले नै गिरीलाई उम्मेदवार बनाउन लागेको हो । ‘बालेनमाथि सत्तारुढ दुई दलले एक्लाएर काम गर्न नदिंदा उनको पक्षमा यदाकदा राप्रपाका ज्ञानेन्द्र शाहीले मात्रै संसदमा कुरा उठाउँछन्, अरूले आवाज उठाइदिएनन् भनेर बालेन समर्थकहरूले यही क्षेत्रका सम्भावना बोकेका युवालाई उम्मेदवार बनाउन लागेका हुन्,’ तिलोत्तमा–६ का बालेन समर्थक एक युवाले भने । उनले थपे, ‘अहिलेको युवा पुस्ताले सबैभन्दा रुचाएको बालेनलाई नै हो, उनलाई काम गर्न नदिएर दुःख दिएको देखेर उनको मान्छेलाई उम्मेदवार बनाउन हामी नै लागेका हौं ।’ बालेन समर्थकहरूले गिरीको पक्षमा रास्वपाको समेत साथ लिन खोजेका छन् ।
आइतबार नै बुटवल मोतिपुरका लेखनाथ गैरेले औपचारिकरुपमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
#source
रुपन्देही ३ को उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह को सचिवालयमा सल्लाहकार रहेका तिलोत्तमाका सन्तोष गिरीले उम्मेदवारी दिने तयारी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
हाँस्यास्पद
आक्रोशित
टिप्पणी
प्रतिक्रियाहरु (०)
















