काठमाडौं महानगरपालिकाले आगामी ७ जेठदेखि टुँडिखेलमा सिप मेला सञ्चालन गर्ने तयारी गरेको छ। मेयर बालेन शाहले निजी क्षेत्रसँगको छलफलमा उक्त जानकारी दिएका हुन्। महानगरले वर्षभर सञ्चालन गर्ने सिपमूलक तालिमबाट उत्पादित जनशक्तिलाई रोजगारीमा जोड्न निजी उद्योग तथा वाणिज्य क्षेत्रसँग सहकार्य गरिने उनले बताए। निजी क्षेत्रबाट आवश्यक जनशक्तिको माग प्राप्त भएअनुसार तालिम सञ्चालन गरिने उनले जनाए।
गत वर्षको सिप मेलाले दक्ष जनशक्ति र रोजगारदाता बीच पुलको भूमिका खेलेको भन्दै निजी क्षेत्रले सहकार्यको प्रतिबद्धता जनाएका छन्। छलफलमा जनशक्तिको अभाव, युवामा घरेलु सिपप्रति अनिच्छा र विदेशमा त्यही सिपमा आकर्षण रहेको विषय उठाइएको थियो।महानगरले हालसम्म २ हजार ७२५ जनालाई तालिम दिई, १ हजार २ सयभन्दा बढीलाई रोजगारीमा जोडेको जनाएको छ। ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत १५ हजारलाई तालिम दिई कम्तीमा ५ हजारलाई रोजगार दिने लक्ष्य रहेको छ।
















