देउवाले सकारात्मक संकेत नगरेपछि बैठक छोडेर हिँडे शेखर र शशांक
कांग्रेसको संस्थापनइतरका नेता शेखर कोइराला र केन्द्रीय सदस्य शशांक कोइरालाले इलाम-२ मा ‘जित्ने’ उम्मेदवारलाई टिकट दिन सचेत गराएका छन् । उनीहरु दुवैको जोड भेषराज आचार्यलाई उठाउनुपर्छ भन्ने थियो ।
कांग्रेसको संसदीय बोर्ड बैठकमै कोइरालाद्वयले देउवासमक्ष साझा भनाइ राखेका हुन् । महामन्त्री गगन थापाले बैठकबाट निस्केर ‘सभापतिज्यू मान्दै मान्नुहुन्न, तपाईं गएर सम्झाउनुस् न’ भनेर शेखरलाई आग्रह गरेका थिए । सोपश्चात शेखर र शशांकले देउवालाई झक्झक्याएका हुन् ।
शेखरको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘पार्टीले हारेकालाई टिकट नदिने निर्णय गरिसकेको छ । तर, तपाईंहरु फेरि पनि हारेकैलाई उठाउन खोज्दै हुनुहुन्छ । यो ठीक भएन ।’
















